नेपाल बन्द गराउने राजनीतिक नामकाे खाेल ओढेका डकैत कार्यकर्ता महाेदय,
बन्द गर, तर बन्द के का लागि?
महंगी गराएकाे कस्ले? सरकारले हाेइन? के कारणले महंगी बढ्याे, त्यसको अनुसन्धान गर्यौ?
सबैभन्दा पहिला सरकारले महंगी बढायाे के बाट?
तिमीहरुका नेता र तिमीहरुकै पार्टी जाेगाउन त्यै सरकारले कराेडाैं, अर्बाैं रकम खर्च गर्छ। तिमीहरुकाे मासुभात र नेताकाे भाषण सुन्दिने र अघिपछि लाग्ने खर्च सरकारी स्तरबाट पार्टी, भराैटे हुँदै तिमीहररुसम्म आइपुग्छ। त्याे लिन्नाैं भनेर बन्द आह्वान गर्न सक्छाै? तिमीहरुका पार्टीले व्यवसायीबाट चन्दा असुल्छन्। त्याे पैसा व्यापारीले तिमीहरु वा भनाैं यही देशका नागरिकबाट असुल्ने हुन्। त्याे चन्दा लिन्नाैं भनेर बन्द आह्वान गर्न सक्छाै?
तिमीहरुका नेताले पाँचतारे हाेटेल तथा रिसाेर्टहरुमा गर्ने बैठकमा हुने खर्चकाे पारदर्शिताकाे लागि बन्द आह्वान गर्न सक्छाै? चप्पल लगाउने हैसियतका तिम्रा नेता कराेडाैंका महलमा कसरी पुगे? त्यस्काे हिसाबकिताब खाेजेर बन्द आह्वान गर्न सक्छाै?
उच्च पदस्थ नेता, कार्यकर्ता र चढ्ने कराेडाैं मूल्यका गाडी र प्रत्येक दिनकाे इन्धन टाेकनलगायत मर्मतसम्भार समेत नि:शुल्क सुविधा र भत्ता लिनेहरुलाई त्याे सुविधा नलेऊ भनेर बन्द आह्वान गर्न सक्छाै? आफू सरकारी जागिरे र टाेले नेतै भए पनि (अपवादबाहेक) घरपरिवार नातागाेतासम्मकाले प्रयाेग गर्ने सरसामान कार्यालयकाे नाममा बिजक बनाएर प्रयाेग गर्ने प्रवृत्ति बन्द हाेस् भनेर बन्द आह्वान गर्न सक्छाै?
तिमीहरुले बाल्ने राँकाेमा समेत तिमीहरुकै कर मिसिएकाे छ। त्यसको प्रयाेग गर्दिनँ भन्न सक्छाै? कुन बैंक, कुन घरबेटीले कुन स्कुल या कलेजले कुन सरकारी कार्यालयले तिमीहरुले बन्द गराउँदाकाे घरभाडा, ब्याज, फिस्, वा सेवा शुल्क मिनाहा गर्छ? तिमीहरुको पार्टीले? यदि त्याे छूट गराउने हैसियत राख्दैनाै भने निजी क्षेत्र बन्द गराउने आँट पनि नगर।
त्यसको मूल्य निजी क्षेत्रले तिमीहरुसँगै उठाउने छन्। त्यसैले सक्छाै र हैसियत छ भने सरकारी कामकाज, सरकारी संस्थानलगायत संसद भवन, राष्ट्रपति कार्यालय बन्द गराऊ, निजी क्षेत्र नछाेऊ। मलगायत मेराे परिवारकाे जिम्मा कुनै राजनीतिक दलले नलिने भएकाेले र मेराे सम्पूर्ण खर्चकाे दायित्व मैले गर्नुपर्ने भएकाेले मेराे व्यवसाय खुल्ला रहनेसमेत जानकारी गराउँदछु।
धन्यवाद।
लेखक कम्प्युटर एसोसियसन नेपाल महासंघ चितवनका सचिव हुन्।


























