चितवन २९ कात्तिक । नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलले सोमबार भरतपुर महानगर प्रमुख रेनु दाहालसँग भेटवार्ता गरेका छन्। दाहालको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा कुराकानी भएको थियो।
राजदुत हेलले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि र अनुसन्धानहरूलाई आदानप्रदान गर्ने गरी सम्झौताअनुसार काम अगाडि बढाइरहेको बताउँदै समग्र चितवन र यहाँको विकासबारे महानगर प्रमुख दाहालसँग जिज्ञासा राखेका थिए।
नेपाल प्रकृतिको सुन्दर मुलुक रहेको भन्दै पर्यटन प्रवद्र्धनमार्फत नेपालले लाभ लिन सक्ने सम्भावना प्रचुर रहेको उनले बताए। कतारमा रहेका नेपाली कामदारको सुरक्षा र रोजगारीमा कतार सरकारले विशेष चासो राखेको राजदुत हेलले जानकारी गराए। कतारमा ५ लाख बढी नेपाली विभिन्न क्षेत्रमा रोजगारमा छन्। साथै पछिल्ला दिनमा कतारमा लगानी गर्ने नेपालीको संख्यासमेत उत्तिकैमात्रामा बढ्दै गएको छ।
महानगरकी मेयर दाहालले भने कतारी विकासको असल अभ्यासलाई अनुशरण गर्न भरतपुर महानगरपालिका आतुर रहेको बताइन्। भरतपुर महानगरभित्रै बनिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पूरा गर्न कतार सरकारसँग सहकार्यको अपेक्षा गरिन्।


























