चितवन कात्तिक ३० । बिहानैदेखि बजार बन्द गराउँदै हिँडेका ११ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गराउन खोज्ने ९ जना र बाइपास सडकमा टायर बाल्न खोज्ने २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
‘बन्दको आह्वान गर्ने विप्लव माओवादीका जिल्ला अध्यक्ष सन्देश पौडेललगायतका नेता कार्यकर्ता पक्राउ परेका छन्, ‘प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक थापाले भने, ‘गाडीको जबरजस्ती चाबी खोस्न खोज्ने नौ जनालाई नारायणगढको लायन्सचोकबाट पक्राउ गरेका हौँ। अरु दुई जना भने बाइपास रोडमा टायर बाल्न खोज्ने व्यक्ति हुन्।’
बन्दकर्ता सडकमै निस्किए पनि बन्दको असर आंशिकमात्रामा परेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। लामा दूरीका सवारीसाधन छिटफुटरुपमा चले पनि दुईपाङ्ग्रेसहितका साना सवारीसाधन निर्वाधरुपमा चलिरहेका छन्। प्रशासनले भने बन्द गर्न खोज्ने जोसुकै भए पनि नियन्त्रणमा लिएर कारवाही गर्ने बताउँदै आएको छ।


























