चितवन, कार्तिक ५ । चितवनका सात स्थानीय तहमध्ये रत्ननगर नगरपालिकामा ७ हजार बढी परिवार बढेका छन्। जनगणना कार्यालय चितवनका अनुसार चितवनमा ३९ हजार २ सय ३८ घरपरिवार थपिएका छन्। राष्ट्रिय जनगणनाअन्तर्गत पहिलो चरणको घर तथा घरपरिवारको सूचिकरणबाट घरपरिवार बढेको देखिएको हो।
भदौ ३० देखि असोज १८ गतेसम्म २ सय १० सुपरिवेक्षकले संकलन गरेको प्रारम्भिक विवरणमा रत्ननगरमा ७ हजार ८३ परिवार बढेका छन्।रत्ननगर नगरपालिकामा २३ हजार १५३ परिवारको गणना हुँदैछ। यस पालिकामा ७ हजार ८३ मानिस बस्ने घर पाइएको छ।
यस्तै, भरतपुर महानगरपालिकामा ८७ हजार ४४२ परिवारको गणना हुँदैछ। यो अघिल्लो गणनाको भन्दा १८ हजार ४ सय ७ परिवारले वृद्धि भएको छ। कालिका नगरपालिकामा १२ हजार ३३७ परिवारको गणना हुने कार्यालयले जनाएको छ। यस पालिकामा ३ हजार २२१ परिवार थपिएका छन्। खैरहनी नगरपालिकामा ४ हजार ९३७ परिवार थप भएका छन्। यस पालिकामा १७ हजार २६८ परिवार रहेका छन्। राप्ती नगरपालिकामा १५ हजार ११९ परिवारको गणना हुँदैछ। यस पालिकामा अघिल्लो गणनाभन्दा ३ हजार ६४ परिवार थप भएका हुन्।
यस्तै, माडी नगरपालिकामा १० हजार १७८ परिवारको गणना हुँदैछ। यस पालिकामा १ हजार २१८ परिवार वृद्धि भएको छ। जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा ६ हजार २०३ परिवारको गणना हुने छ। गाउँपालिकामा एक हजार ४२५ परिवार थपिएका छन्।
२०६८ सालको जनगणनामा चितवनमा १ लाख ३२ हजार ४ सय ६२ घरपरिवारमा रहेकोमा यसपालि १ लाख ७१ हजार ७ सय पुगेको हो। जनगणना कार्यालय चितवनका प्रमुख यज्ञमुर्ति भण्डारीले राष्ट्रिय जनगणनाको तयारी तीव्र पारिएको बताए। कात्तिक २५ गतेदेखि मंसिर ९ सम्म हुने गणनाका लागि गणक प्रमाणिकरणको काम भइरहेको छ।
कात्तिक ५ गतेसम्म केन्द्रीय तथ्यांक विभागवाट छनोटमा परेका गणकको कागजात रुजु तथा प्रमाणिकरण गरेर ९ गते नतिजा प्रकाशन गरिने छ। भरतपुरमा ३, माडी, रत्ननगर र माडीमा एक–एक, खैरहनी समेत हेर्ने गरी राप्तीमा एक, इच्छाकामना समेत हेर्ने गरी कालिकामा एक स्थानीय जनगणना कार्यलय स्थापना भएका छन्।
तराईका जिल्लामा एक गणकले कम्तिमा २ सय ५० परिवारको विवरण संकलन गर्नेछन्। चितवनमा ८ सय १४ गणना क्षेत्र छन्। चितवनमा ८ सय ५७ गणक र २ सय १० सुपरिवेक्षक खटिनेछन्। भण्डारीका अनुसार ८० वटा प्रश्नसहित घरपरिवारको विवरण संकलन हुनेछ।


























