काठमाडौं, कार्तिक ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सम्झौता (एमसीसी) मा करेक्सन गर्न अमेरिका तयार रहेको बताएका छन्। केही तत्वले एमसीसी अनुमोदनमा बखेडा झिकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री देउवाले एमसीसी ऋण नभएर अनुदान रहेको स्पष्ट पारे।
सरकार गठनको सयदिन पुगेको अवसरमा सरकारी संचारमाध्यम गोरखापत्रसँगको कुराकानीमा उनले भने, ‘एमसीसी विशुद्ध नेपालको हितमा छ। त्यही पनि एमसीसीमा करेक्सन गर्न अमेरिकाले तयार छु भनेको छ। अमेरिकाले नेपालको कानूनभन्दा माथिको होइन भनेर भनिसकेको छ।’
प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा भएकाले चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने पनि बताए। तर, गत महीना नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारले एमसीसीमा संशोधन हुन नसक्ने बताएकी थिइन्।
भारत र चीनसँगको सम्बन्ध राम्रो हुनु नै राष्ट्रिय हितमा रहेको बताउँदै प्रधानमन्त्री देउवाले दुबै मुलुकसँग सम्बन्ध राम्रो राख्नु नेपालको आवश्यकता रहेको समेत बताए।
वर्तमान सरकार परमादेश र जनादेश दुबै प्राप्त सरकार भएको र आगामी चैतभित्र सबै नागरिकलाई खोप लगाउने सरकारको योजना रहेको बताए। गठबन्धनमा कुनै संकट नरहेको समेत प्रधानमन्त्रीले बताए।
देउवाको नेतृत्वमा संयुक्त सरकार बनेको कात्तिक ३ गते अर्थात आज सय दिन पुरा भएको छ।

























