चितवन २७ असोज । उपरदाङगढी चितवन जिल्लाकै सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय एवम् ऐतिहासिक गन्तव्य हो। यसलाई संरक्षण तथा सम्वर्द्वन गर्ने उद्देश्यले हाल केही संरचना निर्माण गरेर पर्यटक आगमनलाई बढवा दिन प्रोत्साहन गरिरहेको छ। तर कोरोना भाइरस संक्रमणको जोखिमसँगै पर्यटन आगमन पनि शून्य भएपछि हाल उपरदाङगढी गौचरनमा बदलिएको छ। चाडपर्व लागेसँगै पर्यटक आगमन बढ्न थाले पनि स्थानीले यसलाई गौचरन बनाउन रोकेका छैनन्।
पर्यटक आउँदासमेत गेटमा बसेर शुल्क लिँदै आएकामा हाल चौबीसै घण्टा गेट खुला राख्ने र संरक्षण गर्ने व्यक्तिले नै लापारवाही गरेर गौचरन बनाइदिएको स्थानीयको आरोप छ। ‘समाजको एक जिम्मेवार व्यक्ति नै यो काममा लागिरहनुभएको छ,’ नाम नबताउने सर्तमा एक स्थानीयले भने, ‘समाजमा नीति नियम बनाउने र सिकाउने व्यक्ति नै यस्तो कार्यमा लागेपछि अरुलाई बुझाउनै समस्या भयो।’

जिल्लाकै पुरानो सदरमुकाम भए पनि यसलाई सुरक्षा र संरक्षण दिनुपर्नेमा स्थानीयबाटै लापारवाही गरिदिँदा आएका पर्यटकहरु पनि यहाँका स्थानीयप्रति सकारात्मक नदेखिएको उनको भनाइ छ। यसविषयमा वडा कार्यालय र गाउँपालिकाले विशेष चासो दिनुपर्ने उनले बताए। दिनहुँ गाई चराउँदा गढीको चौर नै सकिएको उनले बताए। ‘गाउँलेले सम्झाउँदा पनि नमानेको हुँदा हामी मिडियामा आउन बाध्य भएका हौँ,’ उनले भने।


























