काठमाडौं, असोज १८ । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेका रिटमाथि आज सुनुवाइ हुँदैछ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै अख्तियारविरुद्ध न्यौपानेले दायर गरेको रिटमाथिको सुनुवाइ आज हुन लागेको हो।
उक्त रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा एक नम्बरमै तोकिएको छ।
न्यौपानेले दायर गरेको रिट सुनुवाइका लागि पटक–पटक पेसीमा चढेपनि अन्तिम सुनुवाइ हुन सकेको थिएन। अख्तियारले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध भने मुद्दा नचलाउने भनि गरेको निर्णय बदर गर्दै पुरक मुद्दा चलाउन माग गरिएको छ।
पूर्वप्रधानमन्त्रीद्वयविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाउन आदेश माग्दै न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसअघि उक्त मुद्दामा प्रमाण बुझ्न, लिखित जवाफ झिकाउने र निर्णय झिकाउने आदेश भएको छ।
नेपाल २०६६(२०६७ सालमा प्रधानमन्त्री थिए। भट्टराई भने २०६९ मा प्रधानमन्त्री थिए। माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले प्रधानमन्त्री निवास बालुवाटार विस्तार गर्ने निर्णय गरेको थियो।


























