चितवन,असोज १६ । पोल प्रयोग गरेबापत भाडा नतिर्ने इन्टरनेट तथा केवल कम्पनीहरूको तार नेपाल विद्युत् प्राधिकरणले काटिदिएकोछ। भाडा तिर्न सम्झौता गर्ने तर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल कम्पनीहरूको लाइन काटिएको हो।
आज (शनिवार) भरतपुरको बसेनी क्षेत्र, बसेनी सबस्टेशन अगाडि ,विद्युत प्राधिकरण अगाडि र सडक डिभिजन कार्यालय अगाडि इन्टरनेटको तार सांकेतिक रुपमा काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ।
तार काटिएपछि आज चितवनका विभिन्न क्षेत्रमा इन्टरनेट अबरुद्ध भएको छ।
भरतपुर वितरणकेन्द्रबाट इन्टरनेट प्रदायक कम्पनीको १ करोड बढिको सामान जफत गरिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले जानकारी दिए। पैसा नतिरेसम्म सामान फिर्ता नगरिने उनले बताए।
प्राधिकरणले पोल प्रयोग गर्ने कम्पनीहरुका लागि बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले हिजोसम्म समय दिएको भएपनि समयसम्ममा सेवा प्रदायकहरू सम्पर्कमै नआएपछि आज (शनिबार) तार काटिएको केन्द्रका प्रमुख सिंहले बताए।


























