काठमाडौं, असोज १६ । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै बहुमत ल्याउने बताएका छन्।
काठमाडौं महानगरपालिकाको कांग्रेस अधिवेशन उद्घाटन समारोहमा बोल्दै केन्द्रीय सदस्य थापाले १४ औं महाधिवेशनबाट पार्टीलाई सुदृढ बनाएर आगामी निर्वाचन एक्लै जित्नसक्ने अवस्थामा पुर्याउनुपर्ने बताए।
‘कसैसंग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो। कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसंग मिल्ने होइन। उनीहरु मिले भने पनि जित्नसक्ने कांग्रेस बनाउन पार्टीभित्र सुधारको खाँचो छ’, थापाले भने।
स्थानीय अधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको भन्दै नेता थापाले कांग्रेसले यथास्थितिबाट मुलुकलाई नेतृत्व गर्न नसक्ने बताए। ‘अहिलेकै अवस्थाबाट हामीले देश र जनतालाई ढुक्क बनाउन सक्दैनौं। त्यसका लागि पार्टीभित्र शुद्धीकरण गर्नुपर्छ, सुधार गर्नुपर्छ’, थापाले भने।


























