काठमाडौं, असोज १३ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको छलफल गर्न बिहीबार सत्तारुढ गठबन्धनको बैठक डाकेका छन्।
जसपाका नेता उपेन्द्र यादवले बिहीबार गठबन्धनको बैठक बस्ने जानकारी आएको बताए। बिहीबारको छलफलले कुन मन्त्रालय कसले पाउने भन्ने निर्क्यौलपछि सम्भवत भोलि नै नत्र शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने उनले बताए।
देउवाले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए। छलफलमा देउबाले मन्त्री हुनेको नाम दिन दाहाललाई आग्रह गरेका थिए। जवाफमा दाहालले आज बस्ने पार्टीको स्थायी कमिटी बैठकपछि मन्त्री हुनेको नाम दिने बताएको देउवानिकट स्रोतले जनाएको छ।
राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको छ।
गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५/५ मन्त्रालय राख्ने सहमति भइसकेको छ। तर, कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति हुन सकेको छैन।


























