काठमाडौं, असोज १३ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा दायर भएको मुद्दा पेसीमा चढेको भने राष्ट्रमन्त्री डा.नारायण खड्काको शपथ बदरको माग गर्दै दायर रिटको पेशी सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा तोकिएको छ।
पूर्णिमाया लामा लगायतले दायर गरेको मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पहिलो नम्बरमै सुनुवाइका लागि पेसी तोकिएको हो। संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन्। यस्तै सोही मुद्दासँग जोडिएको कनकमणि दीक्षितको अदालतको अवहेलना सम्बन्धी मुद्दालाई पनि एकै साथ राखिएको छ। यी मुद्दाको सुनुवाइका लागि पटक पटक पेसी तोकिदै आए पनि स्थगित हुँदै आएको छ।
मन्त्री खड्काको शपथ संविधानविपरीत भएको दाबी गर्दै अधिवक्ता विशाल न्यौपानेले मंगलबार अदालतमा रिट दायर गरेका थिए। मन्त्री खड्काको शपथ असंवैधानिक भएकाले शपथसम्बन्धी कानुन निर्माण गरेर मात्रै गर्न विपक्षीको नाममा परमादेशको माग गरिएको छ। २०७८ असोज ६ गते खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए। पदभार ग्रहण गरेलगत्तै मन्त्री खड्का अमेरिका गएका छन्।
नेपालको संविधानको धारा ८० ले प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीले राष्ट्रपतिसमक्ष तथा राज्यमन्त्री र सहायक मन्त्रीले प्रधानमन्त्रीसमक्ष आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम पद तथा गोपनीयताको शपथ लिनुपर्ने संवैधानिक व्यवस्था गरेको रिटमा उल्लेख गरिएको छ।


























