असोज ४ । दसैँमा घर फर्कने यात्रुहरूलाई लक्षित गर्दै असोज १० गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ। विगतमा दसैंको मुखमा टिकट बुकिङ खुल्ला गरिन्थ्यो।
दसैंको मुखमा टिकट बुकिङ खुल्ला गर्दा सर्वसाधारण ठगिनुका साथै सार्वजनिक यातायातको समेत टुंगो हुँदैन थियो। तर, यस वर्ष सरोकारवाला निकाय यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनको संयुक्त बैठकले छिट्टै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेका हुन्।
सार्वजनिक यातायात व्यवसायी महासंघका महासचिव भरत नेपालले विगतमा जस्तो लफडा नहुने हिसाबले टिकट बुकिङ खुल्ला गरिएको बताए।
‘दसैंमा लामो दूरीको भाडा २८ प्रतिशतले बढेसँगै छोटो दूरीको भाडा पनि बढ्छ। यसका लागि विभागले कार्यविधि बनाएर छिटै टुंगो लगाउने छ,‘महासचिव नेपालले भने,‘विशेषगरी घटस्थापनादेखि अष्टमीसम्म यात्रुको बढी चाप हुने हो। यस वर्ष उपत्यकामा सञ्चालित सवारी साधनसमेत बाहिर लैजान पाउने निर्णय भएको छ।’
यसअघि यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गराउन पटकपटक प्रस्ताव गरे पनि भाडाको विषयले निर्णय हुन सकेको थिएन।
सरकारले भाडा नबढाएसम्म बुकिङ खुल्ला नगर्ने सार्वजनिक यातायात व्यवसायीले अडान लिएको भए पनि यात्रुहरूको सहजतालाई ध्यानमा राख्दै बुकिङ खुल्ला गरिएको महासंघले जनाएको छ।
ट्राफिक प्रहरीले भने यस विषयमा विगतमा भन्दा फरक ढंगले लामो दूरीको चापलाई व्यवस्थापन गर्ने बताएको छ।


























