असोज ३ । नेपाल राष्ट्र बैंकले यो वर्षको दशैँमा ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाउने भएको छ।
यो वर्ष राष्ट्र बैंकले करिब ३५ अर्ब रुपैयाँ नयाँ तथा सुकिला नोट वितरण हुने अनुमान गरेको छ। दशैँ र तिहारका अवसरमा हरेक वर्ष औसतमा ५० अर्ब रुपैयाँ बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको छ। यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणको हात हातमा पुग्छ भने बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन्।
राष्ट्र बैंकले यसपालि पनि ५० अर्ब बढीकाका नयाँ नोट सटहीका लागि व्यवस्था गरिसकेको छ। प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म सटही सुविधा पाइनेछ। राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँका प्रतिबन्डलसम्म सटही हुने गरी यो सुविधा मिलाएको जनाएको छ।
केन्द्रिय बैंकले यहि असोज ४ गतेबाट नयाँ नोट साट्ने व्यवस्था समेत गरिसकेको छ। राष्ट्र बैंकका अनुसार असोज ४ देखि काठमाडौंमा केन्द्रीय कार्यालय बालुवाटार र हरेक प्रदेश कार्यालयमार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गर्नेछ। राष्ट्र बैंकले ४ गतेदेखि नै नयाँ नोट बाँडे पनि अन्य बैंकतथा वित्तीय संस्थाले दसैंको १५ दिनअघिबाट मात्र वितरण गर्ने भएका छन्।
काठमाडौं उपत्यकाभित्र वाणिज्य बैंक र तिनका शाखामार्फत नयाँ नोट सटही सुविधा दिइने भएको छ। उपत्यका बाहिरका लागि भने राष्ट्र बैंकको प्रेस कार्यालय र वाणिज्य बैंकबीचको समन्वयमा नोट सटहीको समय तोकिने जनाइएको छ।


























