चितवन भदौ २३ । आँचल साहित्य कला पुञ्ज मकवानपुरले तीज विशेष कार्यक्रम गरेकाे छ।
आँचलले हरेक वर्ष मनाउँदै आइरहेको सचेतनामुलक तीज विशेष कार्यक्रम यसपटक भने भर्चुअल माध्यामबाट सञ्चालन गरेको हो। विगत वर्षहरूमा जस्तै वातावरण अझै पनि सहज भइनसकेको हुँदा स्वास्थ्य सुरक्षाासम्बन्धी चर्चा परिचर्चा गरी तीज विशेष कार्यक्रम सम्पन्न गरेको आँचलले जनाएको छ।
वरिष्ठ स्वास्थ्यकर्मी डाक्टर अरुणा उप्रेती र हेटौँडा अस्पतालका डाक्टर सुजाता पन्तको उपस्थितिमा सम्पन्न कार्यक्रममा हालको नेपाली खानपान र त्यसले व्यक्तिको जीवनमा पार्ने असरबारे परिचर्चा भएको थियो। व्रत बस्दा स्वास्थमा हुने फाइदा/बेफाइदाबारे छलफल भएको थियो।
सामान्य खालको ब्रतले मानव स्वास्थ्यमा केही फाइदा पुर्याए पनि निराहार ब्रत बस्दा शरीरमा ग्लुकोजको मात्रा कमी हुने भएकाेले त्यसप्रति ध्यान दिनुपर्ने डा पन्तले बताइन्। डा उप्रेतीले नेपाली समाजमा परम्परागतरुपमा प्राप्त ज्ञानहरू बढी प्रभावकारी रहेको हुँदा त्यसैको सिको अहिलेको समाजले गर्नु राम्रो हुने भन्दै भान्सामा प्राप्त हुने खाना नै मानव स्वास्थ्यको लागि प्रभावकारी हुने बताइन्। आफ्ना बालबालिकालाई बजारमा पाइने पत्रुखाना (जङ्कफुड)बाट बचाउन उनले आग्रह गरिन्।
विभिन्न सन्दर्भमा मनाइने उत्सवहरूमा केक काट्ने संस्कृतिले नेपाली समाजलाई फाइदा नपुग्ने उनको भनाइ छ। साथै केकमा प्रयोग हुने गुलियो पदार्थले मुटुमा प्रत्यक्ष असर पार्ने हुँदा त्यस्ता संस्कृतिको सिको नगर्न अनुरोधसमेत गरिन्। संस्थाकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नीरा शर्माले स्वागत मन्तव्य राखेकी थिइन्।


























