(कविता)
-माया ‘घोताने’ गुरुङ
आपा
जबदेखि अलिकति होसमा पाएँ आफूलाई
हजुरकै काखमा थिएँ म
मलाई रहर लाग्न थाल्दा
तपाईं नै हुनुहुन्थ्यो मेरो आडभरोसा
जीवनका हरेक अप्ठ्याराहरूमा
म सम्झिरहन्थें तपाईंलाई
र, सोच्थें-
तपाईं, मात्र तपाईं नै हुनुहुन्छ मेरो समाधान
गुँड छाडेर
जसरी, पखेटा पलाएपछि
टाढाटाढासम्म पुग्छन् बचेराहरू
ठीक त्यसैगरी
छाडेकी हुँ घर मैले पनि
मलाई डर लाग्दैनथ्यो
कोहीदेखि र केहीदेखि
किनकि
मेरो डरको समाधान पनि त हुनुहुन्थ्यो तपाईं
हिउँद लाग्नै हुन्नथ्यो
न्यानो लिएर आइपुग्नुहुन्थ्यो
बर्खा लाग्नु अगावै
जामा आइपुग्थ्यो घरमा
तर, म सोच्दिनथें कि कसरी ल्याउनुभयो यो?
तपाईं भन्नु पनि त हुन्नथ्यो
यस्तै, भाइ रुनुअघि नै तपाईंको गोजीमा मिठाइँ आइपुग्थ्यो
मानौं, तपाईंलाई थाहा छ
ऊ रुनेछ र फकाउनुपर्ने छ तपाईंले नै
पछि गएर एउटा यस्तो पनि आयो समय
कि, तपाईं नै रहनुभएन
नरहेपछि तपाईं
कोही रहेन मेरा लागि
केही रहेन
न समाधान
न आशा
न भरोसा
न साथ-समर्थन
समायान्तरमा लाग्यो
म पनि तपाईंसँगै जान पाएको भए…!
आपा
यी दिनहरूमा
बुझ्ने भएकी छु म अलिअलि
बुझेरै त समाधान खोज्ने भएकी छु
म मेरा बचेराहरूको
कुनै दिन म समस्या थिएँ तपाईंकी
अहिले समाधान भएकी छु अरूको
आपा, यति कुरा बुझेँ कि
आपाको समाधान नहुँदा रहेछन् सन्तान
र सन्तानको समस्या पनि नहुँदा रहेछन् आपाहरू
जस्तो कि, तपाईं गएपछि नै त
आफैँ खोज्न सिकेँ, धेरै कुराहरूको समाधान
ठीक त्यसैगरी
जसरी, बचेराहरूले गुँड छाडेपछि
चारो खुवाइरहँदैन माउले।


























