काठमाडौं, भदौ १६ । काठमाडौं उपत्यकामा भोलिबाट सिनेमा हल खुल्ने भएका छन्। सतप्रतिशत सिट क्षमतामा सिनेमा हल खुल्ने भएका छन्।
“सिनेमा हल खोल्ने दिने आजको बैठकले निर्णय गरेको छ,” ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने, “सिट क्षमताको कुरा हामीले निर्णय गरेका छैनौं। स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्ने छ।”
करिब १७ महिना बन्द रहेका सिनेमा हल खुल्ने भएका हुन्। पहिलो र दोस्रो कोभिड लहरका बीचमा केही समय सिनेमा हल खुले पनि ५० प्रतिशत अकुपेन्सीमा खुल्न दिइएको थियो। उक्त समयमा करिब २० प्रतिशत सिनेमा हल मात्रै खुलेका थिए। कोरोना संक्रमणको त्रासका कारण दर्शक आउँदैनन् भन्दै ठूला ब्यानरका सिनेमा रिलिज भएका थिएनन्।
चलचित्र विकास बोर्डका अनुसार ६४ वटा चलचित्र रिलिजको पर्खाइमा छन्। कोरोनाको संक्रमण अगाडि १९३ वटा सिनेमा हल रहेकोमा यसमध्ये २८ वटा सिनेमा हल बन्द भइसकेका छन्।


























