बुटवल, भदौ ७ । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। सोमबार मुख्यमन्त्री केसीले प्रदेश सभामा विश्वासको मत दिइयोस भन्ने प्रस्ताव राखेका थिए।
सो प्रस्तावको पक्षमा ४२ मत प्राप्त भएको छ। हाल ८० सदस्यीय कायम रहेका प्रदेश सभामा उनले पाएको मत स्पष्ट बहुमत हो। सोमबार बैठकमा ४३ जना उपस्थित थिए।
यस्तै प्रस्तावको विपक्षमा १ मत पर्यो। एमालेले बहिस्कार गरेको प्रदेश सभामा मुख्यमन्त्री केसीले राखेको प्रस्तावमा मतदान भएको हो।
माओवादी नेता केसी काँग्रेस, समाजवादी र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका थिए। एमाले नेतासमेत रहेका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले अल्मतमा परेपछि पदबाट राजीनामा दिएका थिए। त्यसपछि केसी गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका थिए।
एमालेले भने प्रदेश सभा बैठकमा लगातार अवरोध गरेको थियो। सांसद विमला वली र अजय शाहीलाई पदमुक्त गर्नुपर्ने माग गर्दै एमालेले बैठकमा अवरोध गरिरहेको छ।


























