चितवन, भदौ ७ । नेकपा एमाले विभाजन भएर अर्को पार्टी गठन भएपनि पूर्वी चितवनका नगर प्रमुखहरु एमालेमै रहने संकेत गरेका छन्। तर उनीहरु एमाले एक ढिक्का हुनु पर्ने पक्षमा भने छन्।
पूर्वी चितवनमा चार वटा स्थानीय तह छ। वि.सं.२०७४ सालको स्थानीय तहको निर्वाचनमा चारै पालिकामा नेकपा एमालेबाट निर्वाचित भएका थिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग मन मिल्न नसकेपछि एमालेबाट अहिले वरिष्ठ नेता माधवकुमार नेपाल विभाजित भएर नेकपा एकिकृत समाजवादी पार्टी गठन गरिसकेका छन्।
पूर्वका चार नगर प्रमुख मध्ये राप्ती नगरपालिका प्रमुख प्रभा बराल सुरुदेखीनै केपी ओली निकटमा रहेकी छिन्। अन्य पालिकाहरु खैरहनी, रत्ननगर र कालिका नगरपालिका प्रमुख नेपाल निकटका मानिन्थे। तर अहिले उनीहरुले पनि नेपालको धार परिवर्तन गरेका छन्। कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ गोपी अहिले ओली समुहमा खुलेरै लागेका छन्।
श्रोतका अनुसार रत्ननगरका प्रमुख नारायण वन पनि ओली खेमामा लागिसकेका छन्। खैरहनीका प्रमुख लालमणि चौधरी दुवै खेमामा खुलेका छैनन्। आफ्नो कार्यकालमा नगरपालिकाको काममा व्यवस्त रहने भन्दै अहिले यो र उ नभनि जनताको काममा लाग्ने वताउँदै आएका छन्। तर पार्टी छनौट गर्नु पर्दा उनी एमालेमै रहने पक्षमा छन्। एमाले कुनै पनि हालतमा विभाजन हुन नहुने पक्षमा चौधरी थिए।
कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ गोपी आफुसहित पूर्वी चितवनका प्रमुखहरु एमालेमै रहने दावी गर्छन्। तपाईले अव कुन पार्टी रोज्नु हुन्छ भन्ने प्रश्नमा श्रेष्ठले एमाले पार्टी कुनै पनि हालतमा नछोड्ने बताए। विभाजित भएको नेपाल समुह एमालेमै आउनुको विकल्प छैन् कालिकाका प्रमुख श्रेष्ठले भने– मन मिल्ने र पार्टीको सिद्धान्त मिल्नेहरु एकै ठाउँमा हुन्छौ। श्रेष्ठका अनुसार पूर्वी चितवनका नगर प्रमुखहरु आन्तरीक छलफलमा रहेपनि एमाले नछाड्नेमा छन्। हामी चारै जना नगर प्रमुख एमालेमै रहन्छौ श्रेष्ठले भने– कोही कता कोही कता हुदैनौ,वडाध्यक्षहरु, सदस्यहरु पनि एमालेमै हुन्छौ।
नेपाल समुहमा रहेका राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामा, केही वडाध्यक्ष,कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु ओली खेमामा खुलेरै हिडिसकेका छन्। चितवनमा सात वटा पालिका छ। पूर्वी चितवनका चार पालिकामा एमालेको नेतृत्व छ भने भरतपुर महानगरपालिका र माडीमा नेकपा माओवादी केन्द्र तथा इच्छाकामना गाउँपालिका अध्यक्षमा काग्रेशबाट निर्वाचित भएका थिए। श्रोतका अनुसार जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी पनि अहिले ओली खेमामा खुलेरै लागेका छन्।
केन्द्रमा एमाले विभाजित भएकै दिन बागमती प्रदेशका मुख्यमन्त्री समेत फेरवदल भएको थियो। बागमती प्रदेशमा एमाले एकढिक्का रहेको सन्देश दिनकै लागि नेपाल समुहमा रहेकी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा एमाले अध्यक्ष केपी ओलीलेनै मुख्यमन्त्री वनाएका थिए। माधव नेपाल पक्षमा रहेका चितवन क्षेत्र नम्वर १ ख का प्रदेश सभा सदस्य कृष्ण प्रसाद खनाल एमालेमै रहेर प्रदेशको सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन्।


























