काठमाडौं, भदौ ६ । एमालेको केन्द्रीय कमिटीको पुरानै सूचीअनुसार नयाँ पार्टीमा रहने सदस्यहरुको सनाखत गरिने भएको छ। माधवकुमार नेपाल पक्षले नेकपा (एकीकृत समाजवादी) दर्ताको लागि दिएको निवेदनअनुसार निर्वाचन आयोगले भदौ ९ गते सनाखतका लागि बोलाएको छ।
सरकारले साउन ३२ गते संसद्को चालु अधिवेशन अन्त्य गरेपछि भदौ १ मा एमालेले पार्टी विभाजन गर्न अप्ठ्यारो सिर्जना गर्न केन्द्रीय सदस्यको नयाँ सूची निर्वाचन आयोगमा बुझाएको थियो। माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’सहितलाई समेटेर दलको किताब अध्यावधिक गर्न आयोगलाई सूची बुझाइएको हो। उसले बुझाएको सूचीमा केन्द्रीय कमिटीको सदस्य संख्या २६० छ।
तर, आयोगले भने पहिल्यै कायम रहेका २०३ जना केन्द्रीय सदस्यको सूची अनुसार विभाजित दलमा आउने केन्द्रीय सदस्यको प्रतिशत हिसाब गर्ने भएको हो।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एमालेको पहिलेको सूची अनुसार आफूहरुले हिसाब गर्ने बताए। ुअस्ति आएको अध्यादेशमा महाधिवेशनबाट निर्वाचित सदस्यहरुको आधारमा २० प्रतिशत भनिएको छ। त्यसैले हामीले सोही अनुसार हिसाब गर्छौं। एमालेले बुझाएको नयाँ सूचीलाई मान्यता दिने वा नदिने भन्ने कुरा पछिको कुरा हो’, उनले भने।
भदौ २ गते जारी भएको राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशमा ुमहाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाका बखतको केन्द्रीय समितिको बीस प्रतिशत वा सोभन्दा बढी सदस्य वा त्यस्तो दलको संघीय संसद्को संसदीय दलको बीस प्रतिशत वा सोभन्दा बढी सदस्यले एकैपटकु भन्ने वाक्यांश प्रयोग गरिएको छ।


























