काठमाडौं, साउन २९ । नेपालमा एकै दिन तीन लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन्।
नेपालमा कोरोना भाइरस विरुद्ध खोप अभियान सुरु भएयता बिहीबार एकै दिन हालसम्मकै धेरै तीन लाखभन्दा बढी खोप लगाएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जनाएका छन्।
शुक्रबार विहान १० बजेसम्म प्राप्त विवरण अनुसार बिहीबार एकै दिन ३ लाख ९ हजार ६८ जनाले खोप लगाएको उनले ट्वीटरमार्फत् जानकारी दिएका छन्।
गत माघ १४ गतेबाट सुरु भएको खोप अभियानलाई पछिल्लो समय सरकारले तिब्र रुपमा अगाडी बढाएको छ। हालसम्म नेपालमा भारत चीन, जापान अमेरिका र भूटानबाट कोरोना विरुद्धको खोप आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म पूर्ण डोज खोप लगाउनेको संख्या २९ लाख नाघिसकेको छ भने पहिलो मात्रा खोप लगाउनेको संख्या ४६ लाख हाराहारी पुगेको छ।
यसैबीच राज्यमन्त्री श्रेष्ठले खोप लगाउन छुटेका शिक्षकहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको उल्लेख गरेका छन्।
‘शिक्षकहरूलाई यसअघि नै प्राथमिकताका साथ खोप उपलब्ध गराइएको हो,’ राज्यमन्त्री श्रेष्ठले ट्वीटरमा लेखेका छन् ‘तर यदी कोही छुट्नुभएको वा कोभिड–१९ संक्रमित भएर शिक्षकका लागि संचालित खोप अभियानमा सहभागी हुन नपाउनु भएको भए आफ्नो परिचयपत्र लिएर ५५ देखि ६० वर्ष उमेर समूहका लागि संचालन गरिएको खोप केन्द्रमा गएर खोप लगाउन सक्नुहुन्छ।’


























