काठमाडौं, साउन १८ । सत्तारुढ गठबन्धनका नेताहरुको बैठकले सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ तय भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका छन्।
आज बसेको गठबन्धनका नेताहरुको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम छिट्टै तयार गरिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।
उनले भने,‘न्यूनतम साझा कार्यक्रम चाँडै बनाएर जाने विषयमा सहमति बनेको छ।’ मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा समेत सामान्य छलफल भएको उनले बताए।
अध्यक्ष यादवले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने टुंगो एक-दुई दिनभित्र लाग्ने बताए। उनले भने,‘माधव नेपालजी सरकारमा आउने टुंगो एक-दुई दिनमा लाग्छ।’
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको हो। गठबन्धनमा रहेका दलले गठन गरेको कार्यदलले भोलि सरकारको न्यूनतम साझा कार्यक्रमबारेको प्रतिवेदन बुझाउने तयारी गरेको छ।


























