मुम्बई, साउन १३ । बलिउडका लोकप्रिय अभिनेता सलमान खान चाँडो भन्दा चाँडो आफ्नो आगामी फिल्म पुरा गर्ने ध्याउन्नमा छन्। यतिबेला उनी फिल्म ‘टाइगर ३’को सुटिङमा व्यस्त छन्।
यो फिल्ममा सलमान र कटरीना कैफको जोडी अनस्क्रिन रोमान्स गर्दैछन्। फिल्ममा भिलेन भूमिकामा इमरान हाशमी देखिँदैछन्।
यसबाहेक सलमानले आगामी फिल्म ‘कभी इद कभी दिवाली’को रिलिज मिति पनि ‘लक’ गरेका छन्। यो फिल्मको नाम परिर्वतन गरेर अहिले ‘भाइजान’ राखिएको छ।
सलमान र निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले हालैमात्र फिल्म ‘भाइजान’को सुटिङको सेड्युल र रिलिजको मिति तोक्नका लागि भेट गरेका थिए। उनीहरु दुवैले फिल्म सन् २०२२ को दिपावलीमा रिलिज गर्ने सहमति जनाएका छन्।
फिल्मको स्क्रिप्ट कमेडीमा आधारित रहेको र पारिवारिक फिल्म भएकाले दिपावली उपयुक्र्त समय हुनेमा सलमान र साजिद सहमत छन्।
‘भाइजान’को निर्देशन फरहाद समजीले गर्नेछन्। फिल्ममा सलमानको अपोजिटमा पहिलोपटक दक्षिण भारतीय अभिनेत्री पूजा हेगडे देखिँदैछिन्।
सलमानले फिल्मको मिति सार्वजनिक गरिरहँदा शाहरुख खानको प्रतिक्षित फिल्म ‘पठान’ पनि यही मितिमा रिलिज हुँदैछ। फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहमको अभिनय रहनेछ। फिल्मको हाल छायांकन भइरहेको छ। (बलिउड लाइफ)


























