काठमाडौं, साउन ५ । यसवर्षको कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तदेखि सुरु हुने भएको छ। कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सामाजिक मापदण्ड पालना गर्दै परीक्षा संचालन गर्न अनुमति दिएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा संचालन गर्न लागेको हो।
विद्यार्थीको भौतिक उपस्थितीमा परीक्षा संचालन हुने र विगतको जस्तै १०० पूर्णाङ्कको लिखित परीक्षा लिइने जनाइएको छ। बोर्ड अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले साउनको अन्तिमबाट परीक्षा लिइने जनाए।
केही दिनमै बोर्डको बैठक बसेर परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ। कोरोना संक्रमण बढेपछि गत जेठ २६ गतेबाट सुरु गर्ने योजना रहेको कक्षा १२ को अन्तिम परीक्षा सरकारले रोक्ने निर्णय गरेको थियो। सीसीएमसीकै अनुमतिमा त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम र द्धितीय वर्षको परीक्षा संचालन सुरु हुने तयारीमा छन्।


























