काठमाडौं, साउन ४ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ। च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी बैठक कार्यदलमा बनेको १० बुँदे सहमति बमोजिम अघि बढेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
कार्यदलमा भएको सहमति बमोजिम यो बैठकलाई संस्थापन पक्षले १०औँ केन्द्रीय कमिटी बैठक भनेको छ। तर यो बैठकमा पनि नेपाल-खनाल समूह सहभागी छैन। अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँगको सहमतिमा एजेण्डा तय गरेर मात्रै बैठक गर्नु पर्ने सो समूहको माग छ।
बैठकमा पार्टी विवाद, संगठन निर्माण र विधान अधिवेशनका विषयमा छलफल जारी रहेको तामाङले जानकारी दिए। एमाले साउनको अन्तिममा विधान अधिवेशन गर्ने तयारी गरेपछि त्यसको तयारीमा आजको बैठक केन्द्रित छ।
यसअतिरिक्त स्थायी कमिटी बैठकको निर्देशन अवज्ञा गर्दै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मत नहालेका ३२ सांसदलाई के गर्ने भन्नेबारे पनि आजको बैठकमा छलफल हुने उनले बताए।
एमालेका ३२ मध्ये २२ जनाले देउवाको पक्षमा मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए। विश्वासको मत दिने र तटस्थ बसेकाहरुलाई एकैखाले व्यवहार नहुने उनको भनाइ छ।
सोमबारको स्थायी कमिटी बैठकले देउवाको पक्षमा मत दिनेहरु एमालेमा नरहने निर्णय गरेको थियो। तर, संविधानको धारा ७६-५ को सरकारलाई विश्वासको मत दिँदा ह्वीप नलाग्ने र त्यसैआधारमा कारबाही गर्न नपाइने सर्वोच्च अदालतले फैसला सुनाएकाले उनीहरुलाई अरु नै कुनै कारण देखाएर कारबाही गर्ने तयारी एमालेको छ।
०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ का साविकका कमिटी व्यूँताएर पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल-खनाल पक्ष संघर्षरत छ। तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै नेपाल-खनाल पक्षसँग संस्थापन पक्ष सकारात्मक छैन।


























