काठमाडौं, साउन ३ । नेकपा एमालेका सचिव एवं सांसद प्रदीप ज्ञवालीले कांग्रेस सभापति शेरबहादुर दउवालाई श्रीमान् ५ ले प्रधानमन्त्री नियुक्त गरेको टिप्पणी गरेका छन्।
विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले राजतन्त्र रहँदा श्री ५ ले प्रधानमन्त्री नियुक्ती गर्ने भन्दै अहिले श्रीमान् ५ ले अदालतबाट प्रधानमन्त्री तोकेको टिप्पणी गरेका हुन्।
उनले भने, ‘उती बेला श्री ५ बाट प्रधानमन्त्री नियुक्त हुन्थ्यो, अहिले श्रीमान् ५ बाट प्रधानमन्त्री नियुक्त भएको छ।’
रेफ्रीले हानेको गोलबाट देउवा प्रधानमन्त्री भएको उनको भनाइ थियो। सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) लाई अपव्याख्या गरेको आरोप लगाउँदै उनले फैसलाको आलोचना गरे। सांसद ज्ञवालीले सर्वोच्चले संविधान संशोधन गरेको आरोप पनि लगाए।
एमाले सत्ताबाट हट्नु परेकोमा चिन्तित नभएको जिकिर गर्दै सांसद ज्ञवालीले शक्ति पृथकीकरण खलबलिएकोमा चिन्तित बनेको बताए।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा उल्लेखनीय काम गरेको सांसद ज्ञवालीले दाबी गरे। उनले ओलीलाई जनताले वर्षौंसम्म सम्झिरहने बताए। ओलीले नेपालको मिचिएको भूमि लिम्पियाधुरासहितको चुच्चे नक्सा सार्वजनिक गरेको, सगरमाथाको उचाइँ नापेकोलगायतका राष्ट्रले गौरभ गर्न लायक काम गरेको सुनाए।

























