काठमाडौं, असार ३१ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्ततापछि नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ। आज दिउँसो २ बजे डाकिएको बैठक शुक्रबार २ बसे बस्ने गरि स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठक स्थगित गराएर देउवा मन्त्रिपरिषद् विस्तार र आफ्नो सरकारलाई विश्वासको मत प्राप्त गर्ने वातावरण बनाउन आन्तरिक एवं बहुपक्षीय छलफलमा लागेका छन्। सर्वोच्च अदालतको परमादेशपछि यही असार २९ गते प्रधानमन्त्री बनेका देउवाले कांग्रेस र माओवादीबाट दुईदुई जना सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद बनाएका छन्।
सरकारलाई विश्वासको मत दिलाउन संयुक्त सरकार बनाउने कोशिस गरेका देउवाले शुरूमा विपक्षी गठबन्धनमा रहेकाहरुलाई पनि सरकारमा सहभागी गराउने कोसिस गरिरहेका छन्।
देउवाले बुधबार एमाले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागी हुँदै विश्वासको मतका लागि सहयोग गर्न पनि आग्रह गरेका छन्। उनले जसपाको ठाकुर-महतो पक्षसँग छलफलको तयारी गरेको स्रोतले जनाएको छ।
सबै पक्षसँगको परामर्शमा संयुक्त सरकार बन्ने अवस्था नआएमा देउवाले चुनावी सरकारको नेतृत्व गर्ने गरी मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको जनाइएको छ।


























