चितवन असार ३० । केपी शर्मा ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थमा एकै महिनामा दुई पटक मूल्य वृद्धि गरेर जनतालाई आर्थिक मर्कामा पारेको भन्दै चितवनका विद्यार्थी संघठनले मूल्यवृद्धि खारेजीको माग गरेका छन्।
पटकपटक मूल्यवृद्धि गरेर जनताको ढाड सेकाउने काम गरेको भन्दै चितवनका पाँच विद्यार्थी संगठनले बुधबार विरोध गर्दै नारायणगढको पुलचोकबाट भरतपुरको साझा पेट्रोल पम्पसम्म आन्दोलन गरेका हुन्। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ, जनता समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन, नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी, माधवकुमार नेपाल नेतृत्वको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अखिल छैठौँले संयुक्तरुपमा आन्दोलन गरेका हुन्।
आन्दोलनका क्रममा केपी ओली नेतृत्वको सरकारले पटकपटक जनताको ढाडमा टेकेर राजनीति गरेको विद्यार्थी नेताहरुले आरोप लगाए। ‘एक महिनाभित्रै पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनतालाई आर्थिक मारमा पारेकोले हामी सडकमा आएका हौँ,’ अखिल क्रान्तिकारी चितवनका संयोजक अभिनाश रम्तेलले भने, ‘कोरोना संक्रमणको जोखिमले जनता त्यसै पनि समस्यामा परेका बेला सरकारले मौका छोपेर यही बेला जनताको ढाड सेकाउने काम गरेकोले त्यसको विरुद्धमा हामी पाँच विद्यार्थी संगठन एकै स्थानमा उभिएका हौँ।’
जनतालाई स्वास्थ्य सुरक्षाको लागि धमाधम काम गर्नुपर्ने बेलामा मूल्य वृद्धि गरेर उल्टै आर्थिक जोखिमतर्फ धकेल्ने काम गरेको नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष सूर्य ढकालले बताए। आयल निगमलाई घाटा भएको बहानामा जनताबाट उठाउने काम नै गलत भएकोले त्यसको विरुद्धमा सडक संघर्ष गरिएको उनको भनाइ छ।
समाजवादी विद्यार्थी युनियन चितवनका अध्यक्ष अनुज जोशीले जुनसुकै सरकार आए पनि गलत काम गर्नेको विरुद्ध आवाज उठाउन नछाडिने जिकिर गर । ओली सरकारको विरोध गर्दै आए पनि मंगलबारबाट सरकार फेरिएको प्रसंग कोट्याउँदै उनले भने, ‘सरकार फेरिँदैमा जनताको हितविपरित काम गर्नेको विरुद्धमा बोल्न नछाड्ने होइन। हाम्रै पार्टीको सरकार आए पनि हाम्रो विरोध निरन्तर चलिरहन्छ।’


























