मुम्बई, असार २९ । अभिनेता वरुण धवन एक वर्षयता केही निर्देशकसँग भेटघाट गरिरहेका छन्। उनी स्क्रिप्ट पढ्न समय दिइरहेका छन्। उनको पछिल्ला केही फिल्मले बक्सअफिसमा खासै कमाल गर्न सकेन।
फिल्म बक्सअफिसमा असफल हुन थालेपछि उनी सोचेर र सम्झेर फिल्म साइन गरिररहेका छन्। वरुण निर्देशक मोहित सूरीको नयाँ फिल्ममा काम गर्ने तयारी गरिरहेका छन्। मोहित हाल फिल्म ‘एक भिलेन रिटर्नस’ बनाउन व्यस्त छन्।
मोहित एक्सन प्याक प्रेमकथाको फिल्म बनाउन प्रख्यात छन्। त्यहीकारण हालसम्म फिल्ममा चकलेटी ब्वाइको पहिचान बनाइरहेका वरुणलाई पहिलोपटक एक्सन भूमिकामा देखाउन मोहित लालयित छन्।
‘मोहितको काम वरुणले निकै मनपराएका छन्। मोहितले आफ्नो फिल्मको आधारभूत अवधारणा वरुणलाई सुनाइसकेका छन्। जुन अवधारणा वरुणले मनपराएका छन्। कोरोना महामारी पछि वरुण काममा निकै चुजी भएका छन्। फिल्मको हाल स्क्रिप्ट चरणमा भएकाले यो काम सकिएपछि उनीहरु छलफल गर्नेछन्’, फिल्म निकट स्रोतले भनेको छ।


























