काठमाडौं, असार २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना विरुद्धको खोपको अभाव नहुने बताएका छन्।
आइतबार काठमाडौँमा कोभिड– १९ युनिफाइड केन्द्रीय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालीलाई अब खोपको अभाव नहुने बताएका हुन्। केही समय खोपको अभाव देखिएको भन्दै प्रधानमन्त्री ओलीले अब सोही अवस्था दोहोरिन नदिने गरि काम भइरहेको जिकिर गरे।
उनले २०२१ को अन्त्यसम्ममा सबैलाई खोप दिने लक्ष्य अनुसार सरकार अघि बढिरहेको जिकिर गरेका छन्। उनले कोरोना महामारी न्युनिकरणको अभियानमा लक्ष्य अनुसार सबैलाई खोप दिन ढिलो भएपनि नआत्तिन आग्रह गरे।
प्रधानमन्त्री ओलीले सरकारको निरन्तर प्रयासका कारण नै नेपालमा कोरोना नियन्त्रण हुन सकेको दाबी गरे। त्यस्तै उनले नेपालमा जति सस्तो स्वास्थ्य सुविधा कहीँ नभएको बताए। आफ्नो किड्नी प्रत्यारोपण गर्दा ७–८ लाख मात्रै लागेको तर त्यही उपचार गर्दा अन्य देशमा धेरै खर्च लाग्ने उनले बताए।
वीर अस्पतालको नवनिर्मित भवन उद्घाटन भएसँगै ५०० बेड थपिने योजना रहेको अस्पतालका प्रशासकिय अधिकारी प्राडा जागेश्वर गौतमले जानकारी दिए। हाल अस्पतालमा २ वटा अक्सिजन प्लान्ट र १ लिक्विड ग्याँस ट्याङक जडान गरिसकेकाले वीरको पुरानो भवन र ट्रमा सेन्टरमा रहेका कोभिडका बिरामीलाई नयाँ भवनमा सारिएको उनको भनाइ छ।


























