कावासोती, असार २६ । बाढीले सडक भत्काएपछि विहीबार बिहानदेखि अवरुद्ध बुटवल– नारायणगढखण्ड शुक्रबार बेलुकाबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ।
बाढीले राजमागको ह्यूमपाइपसमेत बगाएर फाउण्डेन नै भत्काएपछि विहीबार विहान ८ बजेदेखि बुटवल– नारायणघाटखण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो।
बाढीले कालोपत्रेबाहेक सडकभित्रको ह्यूमपाइपसहित फाउण्डेशन भत्काएर सुरुङ बनाएको थियो। बुटवल नारायणघाट सडक स्तरउन्नतिको ठेक्का पाएको चिनियाँ कम्पनीले बाटो मर्मत गर्न ढिलाइ गर्दा दुई दिनसम्म सवारी साधनहरु सडकमै अलपत्र परेका थिए।
साना सवारी साधनहरु भने कावासोतीबाट दक्षिणतर्फ पिठौली हुँदै उत्तरतर्फ रिठ्ठेपानी भएर झण्डै १० किलोमिटर भित्रीबाटोबाट लोका निस्किएका थिए।
भत्किएको सडकमा ह्यूपपाइप राखी माटो भरेर शुक्रबार बेलुका ७ बजेपछि एकतर्फी रुपमा सूचारु गरिएको हो। एकतर्फी बाटो खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ गालेका छन्।


























