असार २५ । स्विडेनको एक विमानस्थल नजिक स्काईडाइभरहरू सवार एक विमान दुर्घटनाग्रस्त भएपछि विमानमा रहेको सबैजनाको मृत्यु भएको छ। विमानमा आठजना स्काईडाइभर र एक चालक थिए। स्थानीय समयअनुसार बिहीवार बेलुका ७ बजेर २० मिनेटमा विमान ओरेब्रो विमानस्थल बाहिर दुर्घटनाग्रस्त भएको छ।
एकजना व्यक्तिलाई गम्भीर चोटपटक लागेर अस्पतालतिर दौडाइएको स्विडेनको पत्रिका गोटेबोर्ग्स पोस्टेनले खबर दियो। तर अस्पतालमा उनको मृत्यु भयो। अन्य सबैको मृत्यु घटनास्थलमै भएको हो।
सानो प्रोपेलर विमान एयरस्ट्रिपबाट १०० मिटर टाढा खसेपछि आगो लागेको थियो। पछि आगो निभाइएको थियो। स्विडिश मेरिटाइम एडमिनिस्ट्रेसनका प्रेस व्यवस्थापक कार्ल–योहान लिन्डले विमान उड्नेबित्तिकै दुर्घटनामा परेको जानकारी दिए। उक्त विमानलाई एक महिनाका लागि स्केन प्यारासुट क्लबबाट भाडामा लिइएको विश्वास गरिएको छ। रासस


























