असार २२ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बङ्गलादेशमा जारी लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ।
बङ्गलादेश सरकारले लकडाउन थप गर्ने निर्णय गरेसँगै अब यही जुलाई १४ तारिखसम्म लागू हुने भएको छ। कोरोनाभाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले लकडाउनलाई कडा बनाउँदै निरन्तरता दिनु परेको सरकारी अधिकारीहरूले जनाएका छन्।
सरोकारवाला तथा विज्ञहरूसँग परामर्श गर्दा उनीहरूले अझै पनि लकडाउन थप्नुपर्ने सुझाव दिएकाले लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको सरकारले जनाएको छ। कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्गलादेशमा यही जुलाई १ देखि सात दिने कडा लकडाउन घोषणा गरिएको थियो।
बङ्गलादेशमा गत आइतबार कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ। सरकारी अधिकारीका अनुसार आइतबार एकैदिनमा बङ्गलादेशमा कोरोनाका कारण १५३ जनाको मृत्यु भएको छ।
मृतकको सङ्ख्या अत्यधिक बढेपछि कडा लकडाउन लगाउन बाध्य हुनुपरेको सरकारी अधिकारीहरूले बताउने गरेका छन्। बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म १५ हजार २२९ जनाको मृत्यु भएको छ।
त्यसैगरी बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्म ९ लाख ५४ हजार ८८१ जना सङ्क्रमित भएका छन्। तीमध्ये ९ हजार ९६४ जना पछिल्लो २४ घण्टामा थपिएका हुन्। ऐजेन्सी


























