असार २२ । इन्डोनेसियामा कोरोनाको संक्रमण तिब्रगतिमा बढेपछि अक्सिजनको चरम अभाव भएको छ। अस्पतालहरुमा अक्सिजनको अभाव हुनथाले पछि आपतकालको घोषणा गरिएको छ। स्थानीय मिडियाहरुका अनुसार अहिलेसम्म अक्सिजन अभावक कारण ६३ जनाको ज्यान गएको छ।
इन्डोनेसियामा पछिल्ला दिनहरुमा औसत २५ हजार संक्रमित भएको सरकारी रिपोर्ट छ। डेल्टा भेरियन्ट तिब्रगतिमा फैलिरहेकाले स्थिति भयावह बनेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्।
इन्डोनेसियामा अहिलेसम्म २३ लाख भन्दा बढीलाई कोरोना संक्रमण भएको छ भने ६१ हजार भन्दा बढीको ज्यान गएको छ। संक्रमण बढेपछि अघिल्लो साता देशका प्रमुख द्वीप जावा र बालीमा लकडाउन घोषणा गरिएको थियो।
सोमबार मात्र बांडुग शहरमा अक्सिजनको अभावमा आपतकालको घोषणा गरिएको छ। अक्सिजनको अभावमा इमर्जेन्सी उपचारमा गएका विरामी अस्पतालबाट फर्किएको बताइएको छ। संक्रमित विरामीहरुले अहिले युद्धको जस्तो आपतकालीन अवस्था रहेको बताएका छन्।
सरकारको तर्फबाट मे महिनामा भन्दा अहिले हरेक दिन अन्तिम सस्कार गरिनेको संख्या १० गुणा बढेको बताइएको छ। इन्डोनेसियामा अधिकांश फ्रन्टलाइनर्सलाई कोरोनाविरुद्धको खोप लगाइएको भएपनि संक्रमण र मृत्युको संख्या बढिरहेको छ।
इन्डोनेसिया धेरै जसो चीनको खोप सिनोभ्याकमा निर्भर रहेको छ। डेल्टा भेरियन्टमा यो खोप प्रभावकारी नभएको भन्दै सरकारले यो खोप लगाउने विषयमा पुनर्विचार गर्न लागेको बिबिसीले उल्लेख गरेको छ।
संक्रमण बढ्दै गएपछि विदेशबाट आउने यात्रुलाई नियम परिवर्तन गर्दै दुवै डोज खोप लगाएकालाई मात्र प्रवेश दिने, कोरोना परिक्षणको रिपोर्ट देखाउनु पर्ने र ८ दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने बनाइएको छ। ऐन्सी


























