धादिङ, असार १९ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ। बेनीघाट रोराङ-१० स्थित जवाङ खोलामा पहिरोले पाँच वटा सवारी साधन पुरिँदा अन्य ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
पहिरोमा पुरिएर ना ८ ख ४५४० नम्बरको ट्रकका चितवनको राप्ती नगरपालिका-६ का १८ वर्षीय दोर्जे भन्ने बीरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार ४३ वर्षीया भारतीय महिला सोनी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए।
घाइते हुनेमा ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार ५५ वर्षको राजेश कुमार, वर्ष ७ सुगम कुमार, वर्ष २७ का सन्देश कुमार र वर्ष २५ का राजा कुमार छन्। उनीहरु सबै भारतीय हुन्। उनीहरुको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ।
घाइते हुने अरू दुई जना ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार छन्। उनीहरु राप्ती नगरपालिका ६ बस्ने वर्ष ४० को हरिबहादुर प्रजा र चितवन भण्डारा बस्ने वर्ष २६ को सुदीप प्रजा छन्। उनीहरुको चितवनस्थित फित्लिङ बिहानी मेडिकलमा उपचार भइरहेको छ।
सोनीको आज बिहान उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटनापछि अवरुद्ध भएको सडक अहिले एकतर्फी खुलाइएको प्रहरी निरीक्षक अवाले बताए।


























