असार १८ । मनसुनको सक्रियतासँगै उत्पन्न विपदबाट अहिलेसम्म ३३ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ३० जना बेपत्ता छन्। ३० जना घाइते छन्।
नेपालमा यो वर्ष २८ जेठबाट मनसुन शुरु भएको थियो। बाढी, पहिरो तथा डुबान र कटानबाट ४ सय ७५ घरमा आंशिक क्षति भएको छ भने १ सय १२ घरमा पूर्णरूपमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ।
तथ्यांकअनुसार यो अवधिमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा पाँच जनाले बाढी तथा पहिरोमा परेर ज्यान गुमाएका छन् भने डोटीमा चार जनाको ज्यान गएको छ। यस्तै, रोल्पामा पहिरोमा परेर तीन जनाको ज्यान गएको छ भने प्युठानमा पहिरो, रौतहटमा बाढी, तनहुँ र चितवनमा पहिरोका घटनामा परेर दुईरदुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ।
यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालिकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एकरएक जनाको ज्यान गएको छ। यस्तै, जुम्लामा हिम पहिरोमा परेर एक जनाको ज्यान गएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले कतिपय स्थानमा भौगोलिक अवस्थाका कारण अनुमान गर्न नै मुस्किल पर्ने गरेको बताए। उनले केही दिनअघि सिन्धुपाल्चोकमा आएको बाढी पूर्वानुमानभन्दा बाहिर रहेकोसमेत जानकारी दिए।
योवर्ष हिमाली क्षेत्रबाट पानी पर्न शुरु गरेकाले मनसुनमा पनि जलवायु परिवर्तनको असर देखिएको उनले बताए।

























