चितवन, असार १६ । भरतपुर महानगरपालिका–१० घरेलु कार्यालय अगाडि बाइपास सडकमा मालवाहक सवारीले ठक्कर दिँदा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर–१२ कस्तुरी टोल बस्ने ७६ वर्षीय वसन्तबहादुर लिम्बू रहेका छन्।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आज बिहान साढे ७ बजेको समयमा विराटनगरबाट काठमाडौँका लागि बिस्कुट लोड गरी जाँदै गरेको ना ६ ख ४९२३ नंको डिब्बा गाडीले लिम्बूलाई ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते लिम्बूको भरतपुर अस्पतालमा उपचारका क्रममा ७ बजेर ५५ मिनेटमा मृत्यु भएको हो।
दुर्घटनापछि फरार रहेको उक्त सवारीलाई भाग्दै गरेको अवस्थामा केन्द्रीय बसपार्कबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सवारी साधन र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जनाइएको छ। रासस
Facebook Comments


























