मुम्बई, असार १६ । अभिनेत्री मन्दिरा बेदीलाई पति शोक परेको छ। उनको पति राज कौशलको बुधबार विहान हृदयघातका कारण निधन भएको हो।
राजलाई बिहान साढे ४ बजे घरमा नै हृदयघात भएको थियो। उनलाई उपचारको लागि अस्पताल लगे पनि अस्पताल पुग्नु अघि नै उनको निधन भइसकेको थियो।
राज अभिनेताका अलावा फिल्म निर्देशक पनि थिए। उनले अभिनेताका रुपमा फिल्मी करियर सुरु गरेका थिए। आफ्नो करियरमा राजले ‘प्यार में कभी–कभी’, ‘शादी का लड्डु’ र ‘एंथनी कौन है’ निर्देशन गरेका थिए।
राजको निधनमा बलिउडकर्मीले शोक व्यक्त गरेका छन्। मन्दिराले सन् १९९९ फेब्रुअरी १४ मा राजसँग विवाह गरेकी थिइन्। उनीहरुको वीर र तारा गरी दुई धर्म सन्तान छन्।
मन्दिरा र राजको विवाह कुनै फिल्मको कथा भन्दा कम थिएन। उनीहरुको प्रेम विवाह हो। दुवैको पहिलो भेट निर्देशक मुकुल आनन्दको घरमा भएको थियो। दुवैको परिवार विवाहलाई लिएर खुशी थिएनन्। एजेन्सी


























