चितवन, असार १५ । भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा पर्ने रामनगरमा आकर्षक पुष्पवाटिका निर्माण गरिएको छ। उक्त पुष्पवाटिकालाई थप आकर्षक र हरियाली तथा यस क्षेत्रलाई नै पूर्णरुपमा सरसफाइयुक्त बनाउन यहाँका स्थानीय लागी परेका छन्। मंगलबार मात्रै उक्त पुष्पवाटिका क्षेत्रमा करिब ४०० बिरुवा रोपिएका छन्। स्थानीय सामाजिक अभियन्ता एवम् नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) ज्ञानेन्द्र महतको पहलमा पुष्पवाटका संरक्षण तथा सम्वर्द्वन समिति, नेपाल प्रहरी, सतनचुली सामुदायिक वन, स्थानीयको उपस्थितिमा वृक्षरोपण गरिएको हो।
सामुदायिक वनद्वारा संरक्षित क्षेत्रमा पुष्पवाटिका निर्माण गरी सो क्षेत्रलाई थप हरियाली र आकर्षक बनाउने पहल भइरहेको पूर्व डिआइजी महतले बताए। मानिसलाई वातावरण सरसफाइ र बोटबिरुवाबाट धेरै लाभ हुने भएकोले पनि यस्ता काममा सबै एकजुट भएर लाग्नुपर्ने समय आएको उनको भनाइ छ।
पुष्पवाटका संरक्षण तथा सम्वर्द्वन समितिका संरक्षक तारा कुँवरका अनुसार मंगलबार उक्त क्षेत्रमा आँप, लिची, कटकर, अम्बा, सुन्तला, काजुलगायतका फलफूल तथा जडिबुटीका बिरुवा लगाइएको छ। पछिल्लो दुई वर्षदेखि भरतपुर महानगरपालिकाको १ नम्बर वडाबाट पनि बजेट आएको हुँदा काम गर्न थप सहज भएको उनको भनाइ छ।
पहिलो वर्ष एक लाख ७४ हजार र दोस्रो वर्ष आठ लाख ७४ हजार रुपैयाँ महानगरबाट बजेट आएको वडाअध्यक्ष जयराम श्रेष्ठले जानकारी दिए। आउँदो नयाँ आर्थिक वर्षमा पनि रामनगर पुष्पवाटिकालाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।


























