चितवन, असार १४ । कालिका नगरपालिकाले मौरी पालक कृषकलाई ५० प्रतिशत अनुदानमा मौरी घार र मह भण्डारण बाल्टी वितरण गरेको छ। नगरपालिकाले ३८ जना कृषकलाई ४ लाख १ हजार २५० रुपैयाँ बराबरको मौरी घार र मह भण्डारण बाल्टी वितरण गरेको हो। नगरपालिकाले १२ जना कृषकलाई ९० थान मौरी घार र २६ जना कृषकलाई ५०० थान मह भण्डारण बाल्टी प्रदान गरेको नगरपालिकाका कृषी शाखा प्रमुख शिवराज पौडेलले जानकारी दिए। नगरपालिकाले कृषकलाई मौरी घार र बाल्टी खरिदमा २ लाख ४३ हजार ७५० सहयोग गरेको हो भने बाँकी रकम कृषकले भुक्तानी गरेको कृषी शाखा प्रमुख पौडेलले बताए।
सामग्री वितरण कार्यक्रममा कालिका नगरपालिकाका नगरप्रमुख खुमनारायण श्रेष्ठले मौरी पालक कृषकलाई ब्यवसायिक रुपमा अगाडी वढ्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे। नगरप्रमुख श्रेष्ठले कम लगानीमा मौरीपालन ब्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकोले नगरपालिकाले कृषकलाई उपलब्ध गराएको अनुदान बाट ब्यवसायमा थप टेवा पुग्ने विश्वास ब्यक्त गरे।
सामग्री हस्तान्तरण कार्यक्रममा वडा नम्वर ३ का वडाध्यक्ष टिकाराम रिजाल, समाजसेवी रामध्वज डल्लाकोटी ,मिलिजुली मौरी पालन सहकारी संस्था लिमिटेडका अध्यक्ष सन्त बहादुर लामा लगायतको उपस्थिती रहेको थियो।


























