मुम्बई, असार १४ । महाराष्ट्र प्रहरीले एक पाटीमा छापामारी २२ व्यक्तिलाई पक्राउ गरेको छ। यी २२ व्यक्तिमा मराठी फिल्मकी अभिनेत्री हिना पाञ्चालसहित केही कलाकार र कोरियोग्राफर छन्। उनीहरुलाई अहिले हिरासतमा राखिएको छ।
प्रहरीको टोलीले पार्टीबाट लागुऔषध र केही रुपैंयाँ बरामद गरेको छ। उनीहरुको हाल मेडिकल जाँच भइरहेको छ। पक्राउ परेकी अभिनेत्री हिनाले हिन्दी र मराठी फिल्ममा अभिनय गरेकी छन्।
उनी आइटम गीत ‘बलम बम्बई’ र ‘बेवडा बेवडा जालो मी टाइट’का लागि लोकप्रिय छिन्। यसबाहेक उनले सन् २०१९ मा ‘बिग बोस मराठी’मा पनि सहभागिता जनाएकी थिइन्। सन् २०२० फेब्रुअरीमा उनी डेटिङ रियालिटी टेलिभिजन सिरिज ‘मुझसे शादी करोगे’को प्रतिष्पर्धी पनि थिइन्।
बलिउड र लागुऔषधको पुरानो नाता छ। पछिल्लो केही वर्ष यता लागुऔषध मामलामा सेलिब्रेटीहरु जोडिएपछि प्रहरीले सबै स्टारहरुमाथि निगरानी गरिरहेका छन्। केही दिन अघि प्रहरीको एक टोलीले अभिनेत्री नायरा नेहल शाहलाई पक्राउ गरेको थियो।
अभिनेता सुशान्त सिंह राजपुतको निधन पछि लागुऔषधको मामला चर्चाको विषय बनेको छ। एनसीबीले यसको अनुसन्धान गरेको थियो। सुशान्तको निधनमा लागुऔषध मामला जोडिएपछि एनसीबी र प्रहरीले लगातार अनुसन्धान गरिरहेको छ।


























