मुम्बई, असार ११ । अभिनेता शाहरुख खानले बलिउड यात्राको ३० वर्ष पुरा गरेका छन्। उनले ऋषि कपूर र दिव्या भारती स्टारर फिल्म ‘दिवाना’बाट बलिउड यात्रा सुरु गरेका थिए।
बलिउडको ३० वर्षे यात्रा पुरा गरेको खुशीमा उनले ट्वीटरमार्फत आफ्ना फ्यानप्रति आभार व्यक्त गरेका छन्। भावुक किसिमले लेखिएको उनको ट्वीट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। ट्वीटरमा ‘३०गोल्डेन इयर्स अफ एसआरके’ ट्रेण्ड बनाइएको छ।
‘काम गरिरहेको छु। अहिले हेरिरहेको छु, तपाईंहरुको यति धेरै प्रेम। जो तपाईहरु ३० वर्षदेखि ममाथि दिइरहनुभएको छ। अहिले महशुस भएको छ कि तपाईंलाई मनोरञ्जन दिने कोशिस गर्दा मैले आफ्नो आधा बढी जिन्दगी बिताइसकेछु। भोलि थोरै समय निकाले तपाईंहरुसँग कुरा गर्नेछु। यो प्रेमका लागि धन्यवाद’, उनले ट्वीट गरेका छन्।
शाहरुखले फिल्म उद्योगमा पाइला चाल्दा उनका कोही ‘गडफादर’ थिएनन्, न त उनलाई कसैले सिफारिस नै गरेको थियो। आफ्नै मेहनतले उनले सफलताको कथा लेखे।
टेलिभिजनको अभिनय हुँदै फिल्मी अभिनयमा आएका शाहरुखले सकारात्मक र नकारात्मक दुवै भूमिका निभाए। उनले फिल्ममा आउनासाथ विवाह गरे। त्यसपछि उनी पर्दामा आफ्नो रोमान्टिक छविलाई प्रस्तुत गर्न थाले।


























