चितवन, असार १० । पूर्वी चितवनको खैरहनीबाट खैरो हिरोइनसहित एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नम्बर ६ जमौली बस्ने बर्ष ३२ का दिपक दंगाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार लागु औषध खैरो हेरोईन आफ्नो घरमा संचय गरी राखी बिक्री बितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले मंगलबार राती ९ बजे उनको कोठाबाट लागुऔषध बरामद गरेको हो।
प्रहरीको टोलीले उनको कोठाबाट लागु औषध खैरो हेरोईन प्लाष्टिक सहित तौल गर्दा १२ ग्राम ७१० मिलिग्राम र प्लाष्टिक हटाई खैरो हेरोईन मात्र तौल गर्दा १० ग्राम २२० मिलिग्राम सहित पक्राउ गरिएको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए।
दंगालको साथबाट प्रहरीले दुईथान मोबाइल र पकेट स्केल लेखिएको एकथान तराजुसमेत बरामद गरेको छ। दंगाललाई चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।


























