असार ९ । अमेरिकाको चुनावमा सुधार गर्नेसम्बन्धीको विधेयक माथिल्लो सदन सिनेटबाट अस्वीकृत भएको छ। राष्ट्रपति जो बाइडनले प्राथमिकासाथ उठाउँदै आएको चुनावमा सुधारको विषय समेटर बनाइएको विधेयकलाई अमेरिकी रिपब्लिकनहरूले विफल बनाइदिएका छन्।
हुलाकबाट गरिने मतदानलाई सहज बनाउने उक्त विधेयक पक्ष र विपक्षमा समान ५०/५० मत खसेपछि विफल भएको हो। मत विभाजनतर्फ १०० सदस्य सिनेटमा अधिकांश कानूनका प्रस्ताव अघि बढ्न ६० मत आवश्यक पर्छ। तर माथिल्लो सदनमा दुई दलबीचको विभाजन ५०/५० रहँदा सहजै नयाँ बिधेयक पास हुने सम्भावना कम छ।
बाइडनले यसलाई ‘राष्ट्रपतीय कार्यकालको लडाइँ’ भएको बताएका छन्। डेमोक्र्याट्सहरूले बाइडेनलाई पर्याप्त मेहनत नगरिकन हतारमा विधेयक ल्याएको आरोप पनि लगाएका छन्।
हाउस अफ रिप्रिजेन्टेटिभ भनिने अमेरिकी तल्लो सदनमा गएको मार्चमा डेमोक्र्याटहरूले ल्याएको ‘फर द पिपुल एक्ट’ लगभग दलीय आबद्धताका आधारमा सांसदहरू उभिए पनि पारित भएको थियो। त्यसबेला विधेयकको विपक्षमा उभिएका रिपब्लिकनहरूलाई एक जना डेमोक्र्याटले साथ दिएका थिए।
नयाँ चुनावी विधेयकमा चुनावी अभियानमा दिइएका चन्दासहितका योगदानलाई थप पारदर्शी बनाउन र निर्वाचन क्षेत्रहरू निर्धारण गर्दा दलीय प्रभाव कम हुने सुनिश्चित गर्न खोजिएको जनाइएको छ। यसअतिरिक्त उक्त प्रस्तावित व्यवस्थाले अश्वेत मतदाताहरूको अधिकार पनि सुनिश्चित गर्ने दाबी गरिएको छ। एजेन्सी


























