चितवन, असोज ९ । चितवनको कालिका नगरपालिकाले एक वर्षमा २३ किलोमिटर सडक कालोपत्र गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा नगरका अधिकांश मुख्य सडक कालोपत्रे गरेको हो। नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इञ्जीनियर राजेश कोइरालाका अनुसार चालु आर्थिक वर्ष ०७७/०७८ मा २९ वटा सडक निर्माणको क्रममा रहेका छन्। यी सबै योजना रु २० लाखभन्दा माथिका रहेको उनले बताए। तीन सडकको निर्माण सम्पन्न भइसकेको छ भने अन्य निर्माणको चरणमा छन्। नगरपालिकाले रु १३ करोड ९६ लाख सडक निर्माणका लागिमात्र विनियोजन गरेको छ।
कोरोना र बर्सातको पानीले निर्माणको काम प्रभावित भए पनि समयमै गुणस्तरीय काम सम्पन्न गर्ने गरी काम भइरहेको कोइरालाले बताए।
नगर प्रमुख खुमनारायण श्रेष्ठले नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। उनले भने, “म नगर प्रमुखमा निर्वाचित हुनुभन्दा अगाडि नगरपालिकामा तीन किलोमिटर मात्र भत्केको कालोपत्रे थियो। अहिले कति काम भएको छ। एक पटक नगरपालिका घुम्ने जो कोहीले पनि थाहा पाउँछ।”
जनप्रतिनिधि आएपछि नगरपालिकामा सडक कालो पत्रेमा कायापलट नै भएको हो। नगर प्रमुख श्रेष्ठले नगरपालिकाका वडा नं १० र ११ का मुख्य सडक कालोपत्र हुन बाँकी रहेको र यसै वर्ष काम सम्पन्न गरिने बताए। रासस


























