असार ७ । कोरोना भाइरसको संक्रमण कम भएपछि भारतमा आजदेखि रेष्टुरेन्ट, पार्क र छायांकन खुला गरिएको छ ।
संक्रमण घटेपछि भारतका अधिकांश राज्यहरुले यसअघि प्रतिबन्ध लगाइएका विभिन्न गतिविधिहरू खुला गरेका छन्। उत्तर प्रदेशमा दुई महिनाको प्रतिबन्धपछि आजदेखि रेष्टुरेन्ट खुला भएका छन्। रेष्टुराँ तथा होटलमा ५० प्रतिशत उपस्थितिमा हप्ताको पाँच दिन खोल्न दिइएको हो।
यस्तै शनिबार र आइतबार बाहेक बिहान ७ बजेदेखि राति ९ बजेसम्म नै पसलहरु सञ्चालनको अनुमति दिइएको छ।
राजधानी नयाँ दिल्लीमा पनि आजदेखि रेष्टुराँ, बार, सार्वजनिक पार्क तथा उद्यानहरु खुला भएका छन्। उत्तराखण्डमा पनि बजार तथा रेष्टुराँहरु खुला भएका छन्। कर्नाटकमा आउटडोर छायांकनको समेत अनमति दिइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
दुई महिना अघिसम्म दैनिक ४ लाखसम्म संक्रमित भएको भारतमा पछिल्लो १४ दिनदेखि संक्रमितको संख्या १ लाखभन्दा कम भएको छ। एजेन्सी


























