मुम्बई, असार ६ । ‘बाहुबली’ फेम अभिनेत्री तमन्ना भाटियाको खातामा थुप्रै हिट फिल्मको नाम छ। बलिउडमा उनले सोचेझैं सफलता पाएकी छैनन् तर दक्षिण भारतका फिल्म उद्योगमा उनले एकसेएक हिट फिल्म दिएकी छिन्। तर, यही सफलता उनले ओटीटीमा भने दोहोर्याउन सकेकी छैनन्।
बक्स अफिसझैं ओटीटी पनि कलाकारका लागि प्रतिष्ठाको विषय बनेको छ। यहाँ कसले कुन फिल्म वा सिरिज कति हेर्यो भन्ने तथ्यांकको विवरण आउन्न तर ओटीटीमा रिलिज भएका फिल्मको चर्चा र रिभ्यूले यो कति चल्यो वा चलेन भन्ने मोटामोटी आँकडा आउँछ।
यस हिसाबले हेर्दा तमन्नाको ओटीटी डेब्यू भने फ्लपको कोटीमा राखिएको छ। केही समयको अन्तरालमा तमन्ना अभिनीत दुई वेब सिरिज रिलिज भए। एउटा दक्षिणतिरकै ओटीटी ‘आह’मा रिलिज भयो, ‘इलेभेन्थ आवर’। क्राइम थ्रिलर विधाको यो सिरिजमा तमन्ना स्वच्छ उर्जाको कम्पनी चलाउने मालिकको भूमिकामा छिन् जसको कम्पनी डुब्ने संघारमा छ।
अर्को भर्खरै रिलिज भयो, ‘नोभेम्बर स्टोरी’ जुन डिज्ने हटस्टारमा रिलिज भएको छ। तर, दुवै सिरिज चलनचल्तीको भाषामा भन्दा फ्लप भएका छन्। न हेर्ने दर्शक न गतिलो रिभ्यू।


























