असार ६ । बाढी र पहिरोका कारण देशका १६ वटा सडक बन्द भएका छन्। मनसुन सुरु भएपछि पहिरो तथा बाढीका कारण बन्द भएका राजमार्गसहितका ५१ वटा सडकमध्ये २४ वटा एकतर्फी सञ्चालनमा आएका छन्। एघार वटा सडक भने मर्मतपछि नियमित सञ्चालनमा आइसकेका छन्।
पछिल्लो पटक खोड्पे–चैनपुर सडक अन्तर्गत बझाङको तमैलमा मर्मतपछि सडक खुलेको छ। साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड अन्तर्गत बाजुराको बार्जुगाड र हड्डे खोलामा पहिरो झरेको छ। गएको असार १ गतेदेखि बन्द यो सडक भोलिसम्ममा खुलाउने तयारी भएको विभागले जनाएको छ।
त्यस्तै डुम्रे–बेसीसहर–चामे सडक खण्ड अन्तर्गत मनाङ र लमजुङका विभिन्न भागमा सडक भत्केको छ। मनाङको तिमाङ छहरामा गएको जेठ ३१ गते तथा धारापानी, बगरछापलगायतका ठाउँमा असार ३ गतेदेखि बन्द सडक आउँदो २० गतेसम्म खुलाउने गरी तयारी भइरहेको छ। अरनिको राजमार्ग अन्तर्गत काठमाण्डौ–कोदारी सडक सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले बन्द छ।
त्यस्तै रसुवाको स्याब्रुबेसी–रसुवागढी तथा मैलुङ–स्याब्रुबेसी सडक बन्द छ। धेरै क्षति भएका यी सडक तत्काल खुलाउन सक्ने अवस्था नरहेको पनि सडक विभागले जनाएको छ।
मनसुन सुरु नहुँदै सडक विभागले बाढी र पहिरोले सडक बन्द भइहाले तत्काल खुलाउने गरी तयारी भइरहेको जनाएको थियो। विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले एक सय ९५ ठाउँमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राखिएको बताए।


























