मुम्बई, असार ४ । बलिउड अभिनेता सलमान खानले आफ्नो ३२ वर्षे फिल्मी करियरमा कमेडी, ड्रामादेखि लिएर एक्सन र रोमान्टिक फिल्ममा काम गरे। फिल्मी यात्राको यी फ्लेभरलाई थाँती राख्दै उनी पहिलोपटक बायोपिक फिल्ममा देखिदैछन्।
सलमान निर्देशक राजकुमार गुप्ताको नयाँ फिल्ममा ‘ब्ल्याक टाइगर’का रुपमा चर्चित भारतीय जासूस रवीन्द्र कौशिकको भूमिकामा अभिनय गर्दैछन्। एक्सन थ्रिलरको यो फिल्मलाई भारतीय इतिहासको अविश्वसनीय सत्य कथा भनिएको छ। साजिद नाडियाडवालाको फिल्ममा काम पुरा गरेपछि सलमान यो फिल्ममा व्यस्त हुनेछन् ।
रवीन्द्रलाई भारतमा हालसम्मकै राम्रो जासूसका रुपमा चिनिन्छ। राजकुमार विगत पाँच वर्षयता रवीन्द्रको बारेमा अध्ययन गरिरहेका छन्। त्यही अन्तरालमा उनले फिल्मको पटकथा तयार पारेका छन्।
पटकथाले रवीन्द्रको उपलब्धिहरु र विरासतलाई न्याय गर्नेमा राजकुमार ढुक्क छन्। उनले सलमानलाई पटकथा सुनाउदा सलमान सैद्धान्तिक रुपले फिल्म गर्न सहमत भइसकेका छन्।
निर्माताहरु अहिले फिल्मको नामको विषयमा छलफल गरिरहेका छन्। राजकुमारको टिमले रवीन्द्रको ७० देखि ८० को दशकको समयलाई पर्दामा ल्याउनका लागि अनुसन्धान गरिरहेका छन्। नवभारत टाइम्स


























