चितवन ०२ असार । अष्ट्रेलियामा रहेका चितवनवासीहरूको संस्था चितवन समाज भिक्टोरियाले स्थायी अस्पताल निर्माण गरिरहेको इच्छाकामना गाउँपालिकालाई दुई थान मनिटर सहयोग गरेको छ। हाल गाउँपालिकाले कोभिड अस्थायी अस्पताल सञ्चालन गर्दै आएको छ। पालिकाले कोभिड संक्रमण भएका बिरामीका लागि स्थापना गरेको कोभिड अस्थायी अस्पतालमा राख्ने गरी दुई थान ‘प्यासेन्टमनिटर’ दिइएको हो।
चितवन समाज भिक्टोरियाले पठाएको १ लाख ५० हजार ४०० रुपैयाँमा खरिद गरिएका मनिटर स्वास्थ्य कार्यालय चितवनमार्फत् गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। स्वास्थ्य कार्यालय चितवनको प्राङ्गणममा आज ती सामग्री कार्यालय प्रमुख दीपक तिवारीमार्फत् गाउँपालिकाका स्वास्थ्य विभाग प्रमुख वासु सापकोटालाई हस्तान्तरण गरिएको हो। मनिटर प्राप्त गरेपछि स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीले कोभिड नियन्त्रणमा हातेमालो गर्नका लागि अष्ट्रेलियामा रहेका नेपालीहरूको तर्फबाट पाएको सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेकाे बताए।
चितवन समाज भिक्टोरियाका अध्यक्ष अनुपम पाठकले आफूहरुको सानो सहयोगबाट गाउँपालिकाभित्रका सर्वसाधारण लाभान्वित हुने बताए। आगामी दिनमा पनि सहयोगलाई निरन्तरतता दिइरहने उनले प्रतिवद्धता जनाए। १५ शय्याको कोभिड अस्थायी अस्पताल सञ्चालन गरिरहेको गाउँपालिकामा यसअघि २ वटा मात्रै प्यासेन्टमनिटर थियो। बुधबार दुईवटा मनिटर थपिएपछि उपचार सेवामा थस सहज हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताए। कोरोना अस्थायी अस्पतालबाट हालसम्म १८ जनाले सेवा लिएको उनले बताए।
गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले विदेशमा रहेका चितवनवासी र नेपालीहरुको सहयोग निकै महत्त्वपूर्ण रहेको बताइन्। चितवनसहित धादिङ, गोरखा र तनहुँका बिरामी यसबाट लाभान्वित हुने अध्यक्ष गुरुङले बताइन्। चितवन समाज भिक्टोरियाले अष्ट्रेलियाबाट विभिन्न समयमा सहयोग पठाइरहेको छ। समाजले एक लाख ५० हजार रुपैयाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पनि सहयोग गरेको छ।


























