मुम्बई, जेठ २७ । बलिउड अभिनेत्री तथा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्ती डेढ वर्ष यताको मानसिक तनावबाट विस्तारै मुक्त हुँदैछिन्। हालैमात्र उनले ‘टाइम्स मस्ट डिजायरेबल वुमेन २०२०’ को उपाधि पाइन्।
यी अभिनेत्रीमाझ अहिले एउटा महत्वपूर्ण प्रोजेक्ट आएको छ। पौराणिक कथा ‘महाभारत’लाई आधुनिक रुपान्तरण गर्दै निर्माण हुन लागेको फिल्म ‘महाभारत’मा निर्माताले उनलाई द्रौपदीको चरित्रका लागि प्रस्ताव गरेका छन्। रियाले पनि यो चरित्रका लागि निकै चासो देखाएकी छन्। निर्माताहरु अहिले अभिनेत्रीसँग कुराकानी चरणमा छन्।
‘यो महाभारत र द्रौपदीको भूमिकालाई लिएर बनाइएको ठूलो परियोजना हो। अहिलेको आधुनिक परिवेशमा यो महाभारत बन्नेछ। द्रौपदी भूमिकाका लागि रिया चक्रवर्तीसँग कुराकानी भइरहेको छ’, फिल्म निकट स्रोतले भनेको छ।
रियाले यो फिल्मका लागि ग्रीन सिग्नल दिइन् भने बलिउडमा कमव्याक गर्न उनलाई सहज हुने फिल्म पण्डितहरुको बुझाई छ। रिया फिल्म ‘चेहरे’मा देखिँदैछिन्। फिल्ममा अमिताभ बच्चन र इमरान हाशमीको अभिनय छ। फिल्ममा उनको भूमिका सानो भएपनि महत्वपूर्ण छ। एजेन्सी


























